[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पत्रिकामा नाम छापिएला --- नेपालि भएसि .. बिदेशमा लगानि गर्न नि नपाइने रहेछ ;)
[VIEWED 7848 TIMES]
SAVE! for ease of future access.
Posted on 01-16-19 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५५ नेपालीको विदेशमा लगानी

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।

खोज पत्रकारिता केन्द्र

५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी/व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ ।

पूर्व सांसद् वीरेन्द्र महतो


वीरेन्द्र महतोको कम्पनी सम्बन्धी समाचार बेलारुसका सञ्चारमाध्यमहरुले समेत ‘कभर’ गरेका थिए ।

साईप्रस र ब्रिटिश भर्जिन आईल्याण्ड्समा व्यवसायी उपेन्द्र महतोका कम्पनीहरु दर्ता भएको प्रमाणपत्र । यो विवरण आईसीआईजेको सहकार्यमा खोपकेले प्राप्त गरेको हो ।
हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ । चार जना लगानीकर्ता रहेको एम्कोडोरका साझेदारहरूमा गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ, वीरेन्द्रका दाइ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो र उनका विदेशी साझेदार रोमियो अब्दो हुन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो कर छली प्रकरण– एनसेलमा पनि जोडिन्छन अब्दो । एनसेल बिक्री प्रकरणमा झन्डै ६१ अर्ब रुपैयाँ (हाल ७२ अर्ब पुगिसक्यो) कर छली गरेर बाहिरिएको टेलियासोनेराको तर्फबाट एनसेलमा प्रतिनिधित्व गर्थे उनी । अब्दो टेलियासोनेराले नेपालको एनसेल कम्पनीमा लगानी गरिरहेका वेलाका अध्यक्ष हुन् । कागजातहरूले लेवनानी मूलका अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् भन्ने देखाउँछ ।

वीरेन्द्र महतोले सात वर्षअघि लगानी गरेको स्वीकार गरे । “करीब सात वर्ष पहिले मेरो लगानी थियो, अहिले छैन” उनले भने, “नेपालबाट अन्य लगानीकर्ता को को थिए त्यसबारे मलाई थाहा छैन ।” बेलारुस छाडेर अहिले नेपालमा नै बसिरहेको उनले बताए । महतोले भने “पहिले गैरआवासीय नेपाली थिएँ । अहिले छैन ।” आफूले रोमियो अब्दोलाई नचिनेको उनको भनाइ थियो ।

निरज, समता र उपेन्द्र

सन् २०१५ मा आईसीआईजेको ‘पनामा पेपर्स’ खुलासामा उपेन्द्र महतोका नाममा ‘ट्याक्स हेवन’ मुलुकमा कम्पनीहरू रहेको उल्लेख थियो । हामीले प्राप्त गरेका कागजातहरूले महतो, उनकी श्रीमती समता र उनका साझेदार निरजगोविन्द श्रेष्ठका नाममा ब्रिटिश भर्जिन आइल्यान्डस्, साइप्रस, बेलारुस, बेलायत र भारतमा लगानी रहेको देखाउँछ । उनीहरूमध्ये कुनै दुई वा तीनैका नाममा रहेका कम्पनीहरूमा स्पार्टली भेन्चर, पंकुर फाइनान्स, टिपोलोजिया, मनिस्टार, एम्कोडोर, बिएन्डके, यज्ञदिप, युमि नेपाल अर्थक्वेक, नोष्टल बिजनेश कर्व, मावेल एपरेल, युमि अपिल नेपाल अर्थ क्वेक छन् । यसबारेमा महतोले कुनै प्रतिक्रिया दिन मानेनन् ।

अजेयराज सुमार्गी र अर्जुन शर्मा

व्यवसायी अजेयराज सुमार्गीको पनि विदेशमा लगानी रहेको भेटिएको छ । आईसीआईजेसँग आवद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले ट्याक्स हेवन मुलुक साइप्रसको ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का विवरणहरू खोपकेलाई उपलब्ध गराए । ती दस्तावेजका अनुसार, सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेको भेटियो । साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक ल फर्मले दर्ता गराइदिएको एयरबेलका लगानीकर्ताहरूमा अजयराज सुमार्गी पराजुली, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिश भर्जिन आइल्यान्डस्को जोधार इन्भेष्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक छन् । सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल लेखिएको छ भने शर्माको कमलादी काठमाडौं–२ उल्लेख छ ।


साईप्रसमा व्यवसायी अजय सुमार्गीको कम्पनी दर्ता भएको प्रमाणपत्र त्यहाँको कम्पनी दर्ता गर्ने कार्यालयबाट खोपकेले प्राप्त गरेको हो ।
साइप्रसका खोज पत्रकार स्तेलियोसका अनुसार, “साइप्रसमा सुमार्गीको कम्पनी दर्ता हुँदा नेपालको मात्रै हैन, साइप्रसको समेत कानून उल्लंघन भएको छ । विदेशमा लगानी गर्न नपाउने देशका नागरिकले साइप्रसमा पनि लगानी गर्न पाउँदैन । म्याग्नमसर्भ ल फर्मले नेपालीले विदेशमा लगानी गर्न नपाउने कानूनी व्यवस्थाबारे थाहा पाउनु जरूरी थियो ।”

सुमार्गी र शर्माले विदेशमा लगानी गरेर कानूनको स्पष्ट उल्लंघन गरे । त्यति मात्रै होइन नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा विदेशको आफ्नै कम्पनीबाट नेपालमा रकम भित्र्याउने काम समेत गरे । यसअघि सार्वजनिक भएको विवरण अनुसार, उनीहरूले नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीको नाममा आफ्नै एयरबेल कम्पनीबाट नेपाल रकम भित्र्याएका थिए । २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, “सन् २००८ देखि २०१३ सम्ममा सुमार्गीले ९ पटक गरेर ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैया“) एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा भित्र्याएको देखिन्छ ।” यस बाहेक पनि सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करीब ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब रुपैयाँ) अहिलेसम्म नेपाल भित्र्याइसकेका छन् ।

सुमार्गीले एयरबेलमा आफ्नो लगानी नभएको बताए । “साइप्रसको एयरबेल भन्ने कम्पनीमा कसरी मेरो लगानी हुनु ? तपाईंले पाउनुभएको डकुमेन्टमा त्यही सूचना छ भने लेख्नुस् ।” उनले विदेशबाट सबै रकम सरकारमार्फत औपचारिक रूपमा नै ल्याएको दाबी गरे । सुमार्गीले भने, “मेरो टेलिफोन कम्पनीको मालिक नै एयरबेल हो । एयरबेलको मालिक टेलियासोनेरा हो ।” उपेन्द्र महतो र टेलियासोनेरासँगको साझेदारीको विषयमा उनले भने, “मलाई थाहा छैन । यसबारे उपेन्द्र महतोलाई नै सोध्नुस् ।”

सुमार्गीकै कम्पनीमा काम गर्ने शर्माले चाहिं साइप्रसको एयरबेल कम्पनीमा तपाईंको लगानी रहेछ नि भन्ने प्रश्न सोध्ने बित्तिकै टेलिफोन काटिदिए । दोस्रो पटक फोन उठाए, बोलेनन् । तेस्रो पटक फोन गर्दा काटे । चौथो पटकमा फोन नै अफ गरे ।

परिवारकै लगानी

चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी रहेको भेटियो । अरुणकुमार चौधरी र उनकी श्रीमती शिला, छोरा करण र सुुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ । आईसीआईजेका अनुसार, सन् २००४ मा दर्ता भएको यो कम्पनीको नेपालको ठेगाना सरस्वती सदन, ठमेल उल्लेख छ । आईसीआईजेका अनुसार, अर्को ट्याक्स हेवन टापु गर्नजीमा दर्ता रहेका दुुई विदेशी कम्पनी यो कम्पनीका साझेदार छन् । टेन्बी नोमिनिज लिमिटेड र ब्रोक नोमिनिज लिमिटेड चौधरीका साझेदार कम्पनी हुन् । टेन्बी र ब्रोक कम्पनीमा को को शेयर होल्डर छन् भन्ने चाहिं खुल्न सकेन । उक्त कम्पनी अहिले अस्तित्वमा नभएको चौधरीको भनाइ छ । चौधरीले भने, “मेरो बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोरालाई बेलायतमा पढाउने हो भने तिमीलाई सजिलो हुन्छ कम्पनी खोल भनेका थिए तर खोलिनँ । आईसीआईजेमा कताबाट त्यो खबर आयो थाहा भएन । त्यो आएपछि मलाई धेरै अप्ठेरो प¥यो ।”

राजेन्द्रकुमार काव्रा र उनकी श्रीमती रेखा काव्रा विदेशमा लगानी गर्ने अर्को परिवार हो । उनीहरूले एउटै कम्पनीमा लगानी गरेका छन् । शुक्रपथ काठमाडौं ठेगाना उल्लेख उनीहरूले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फ्रेगे्रन्स टाउन लिमिटेड नामक कम्पनी दर्ता गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, राजेन्द्र काव्रा भृकुटी कागज उद्योगका लगानीकर्तामध्ये एक हुन् । विदेशमा लगानीबारे काव्रा समूहले केही बताउन चाहेन । रेखाले सबै कुरा श्रीमान्लाई मात्रै थाहा भएको बताइन् ।

गुमनाम लगानीकर्ता

व्यावसायिक क्षेत्रमा खासै नाम नसुनिएका नेपालीहरूले समेत विदेशमा लगानी गरेको भेटियो । त्यसको उदाहरण हो नवाङ डोल्मा । जोरपाटी–२ ठेगाना उल्लेख डोल्माले सन् २०१२ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फिक्स युनियन होल्डिङ्स लिमिटेड र गोल्डेन सिम्बल इन्टरनेशनल लिमिटेड कम्पनी दर्ता गरेकी हुन् । त्यस्तै अर्को नाम हो उमादेवी सिंघानिया । उनका नाममा सन् १९९८ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा सिल्भर ट्रि लिमिटेड कम्पनी दर्ता छ ।

खासै नसुनिएको अर्को नाम हो रिनुका प्रधान । चुनदेवी, ४ काठमाडौं ठेगाना उल्लेख गरी प्रधानले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा रेस्ट पार्क क्यापिटल इन्क कम्पनी दर्ता गरेकी हुन् । यो कम्पनीमा अन्य दुुई नेपालीको पनि लगानी छ । नेपाली ठेगाना थाहा नभएका पुुनम प्रधान र अजयप्रसाद प्रधानले रेस्ट पार्क कम्पनीमा लगानी गरेका छन् । आईसीआईजेको विवरणमा उनीहरूको ठेगाना सिंगापुर मात्रै उल्लेख छ ।

नेपाली व्यावसायिक जगतमा नसुनिएको अर्को नाम हो विमलकाजी ताम्राकार । ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनले हिमालयन इन्भेष्टमेन्ट ग्रुप र वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नाम गरेका कम्पनीमा लगानी गरेका छन् । आईसीआईजेका अनुसार, उनले २००२ र २००३ मा यी दुुई कम्पनी दर्ता गरेका हुन् । हिमालयन इन्भेष्टमेन्ट ग्रुपमा विमलकाजीसहित विश्ववरसिंह थापा, नवीन्द्र जोशी, विश्वधर तुलाधरको लगानी रहेको देखिन्छ ।

सिद्धिभवन कान्तिपथ ठेगाना उल्लेख गर्ने ताम्राकारको वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालिमा अन्य नेपालीको समेत लगानी छ । नेपाली नागरिक विजेन्द्र जोशी, अरुण श्रेष्ठ, तुलाधर र नवीन्द्रको यसमा लगानी रहेको आईसीआईजेले जनाएको छ । नेपाली नागरिकको लगानी रहेको ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता गरेकै नाम वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नेपालमा पनि दर्ता भएको भेटियो । २०५१ चैतमा नेपालमा दर्ता भएको यो कम्पनीका शेयर होल्डर पनि उनै छन् । आईसीआईजेले सन् २०१३ अप्रिलमा सार्वजनिक गरेको ‘अफसोर लिक्स’ मा वल्र्ड डिष्ट्रिव्युशन नेपाल प्रालिका लगानीकर्ता अरुण श्रेष्ठ र नवीन्द्र जोशीको राष्ट्रियता खुल्न नसकेको उल्लेख थियो । तर, नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सोही नाममा दर्ता भएको कम्पनीका शेयर सदस्यहरूको सूचीमा उनीहरूकै नाम भेटिएपछि उनीहरू नेपाली भएको पुष्टि हुन्छ ।

अरुणकी श्रीमती कलिनाले पनि यो पुष्टि गरिन् । “यो हाम्रो आइटीसँग सम्बन्धित कम्पनी हो । ब्रिटिश भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता भए/नभएको श्रीमान्लाई थाहा छ, उनले भनिन्, “म तपाईंको कुरा श्रीमान्लाई भनेर फोन गर्न लगाउँछु ।” तर, अरुण सम्पर्कमा आएनन् ।

चर्चामा नरहेको अर्को नाम हो विनु श्रेष्ठ । आईसीआईजेका अनुसार, उनले पनि सन् २००५ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा वेलउड एकज लिमिटेड कम्पनी दर्ता गरेका छन् । आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा नेपाली नागरिक किशोर रानाको नाम पनि थियो । इचंगु काठमाडौं ठेगाना उल्लेख रानाले ट्याक्स हेवन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पूरै शेयर उनको नाममा छ । काठमाडौं–३ ठेगाना उल्लेख गरेका निर्मल श्रेष्ठले पनि ट्याक्स हेवन मुलुक माल्टामा सन् २००९ मा केआरवी ग्रुप अफ कम्पनीमा लगानी गरेको विवरण फेला परेको छ ।

नेपाली व्यावसायिक क्षेत्रमा खासै नचिनिएका श्याममिलन श्रेष्ठको पनि ब्रिटिश भर्जिन आइल्यान्डस्मा दुुई कम्पनीमा लगानी छ । सोनेट वल्र्ड वाइड लिमिटेड र आईलिंकेज इन्टरनेशनल लिमिटेडमा उनको लगानी रहेको भेटिएको छ । सोनेट वल्र्ड वाइडमा श्याममिलनसहित सात जनाको लगानी देखिन्छ । नेपाली हुनसक्ने नाम थर भएका अन्य दुुई आशिष रौनियार र चिम्पाल रौनियारको पनि सोनेटमा लगानी छ । तर उनीहरूको ठेगाना उल्लेख छैन । अर्को कम्पनी आईलिंकेजमा पनि यिनै दुुई, श्याममिलन र अर्का नेपाली खुश्बु सरकारको लगानी रहेको आईसीआईजेको विवरणमा उल्लेख छ ।

हाम्रो टेलिफोन सम्पर्कमा आएका श्यामिलनले खुश्बु सरकार श्रेष्ठलाई चिनेको बताए । “उहाँसँग मिलेर हङकङमा १४/१५ वर्ष अगाडि ‘जिरो एकाउण्ट’ को कम्पनी खोलेको हो । अहिले त्यसको अस्तित्व समाप्त भइसक्यो” श्रेष्ठले भने, “केही काम लाग्छ कि भनेर खोलेका थियौं ।” श्रेष्ठको यो प्रतिक्रिया पछि हामीले हङकङको कर्पोरेट रजिष्ट्रिजको विवरण हे¥यौं । कर्पोरेट रजिष्ट्रिजका अनुसार, सोेनेट इन्टरनेशनल नामको कुनै कम्पनी हङकङमा दर्ता छैन । कर्पोरेट रजिष्ट्रिजको दस्तावेज अनुसार आइलिंकेज इन्टरनेशनल लिमिटेड दर्ता छ । तर, त्यसका लगानीकर्ता दुई मलेशियन नागरिक हुन् श्याममिलन हैनन् ।

खुश्बु सरकारले २००१ मा स्टार्ट अप कम्पनीको लागि दर्ता गरेको बताए । “त्यो हङकङमा दर्ता थियो । हङकङका साथीहरूले कर प्रयोजनका लागि ब्रिटिश भर्जिन आइल्याण्ड्समा राखेका रैछन्” उनले भने, “त्यो कम्पनी काम लागेन, तीन महीनामा बन्द भयो ।” उनीसँगै नाम जोडिएका श्याममिलन श्रेष्ठ, आशिष रौनियार, चिनपाल रौनियारको लगानी रहेको उनले बताए । नेपालीले विदेशमा लगानी गर्न पाइँदैन नि भन्ने प्रश्नमा उनले भने “२००१ मा हामीलाई विदेशमा कम्पनी दर्ता गर्नुहुन्न भन्ने थाहा थिएन ।”

ब्रिटिश भर्जिन आइल्यान्डस्मा लगानी गर्नेहरू अरू पनि छन् । एम्कोडोर अर्थ मुभिङ इक्विपमेन्ट इन्डिया प्रालि र महेश्वर सफ्टेक प्रालिमा पनि नेपाली नागरिकहरूको लगानी देखिन्छ । काठमाडौं महाराजगञ्ज ठेगाना रहेका योगेशलाल श्रेष्ठ र मेनुका श्रेष्ठले यी कम्पनीमा लगानी गरेका हुन् । योगशलाल र अर्का नेपाली राजनलाल श्रेष्ठको नाममा अर्को कम्पनी छ– महेश्वर सप्लायर्स कम्पनी । सन् २०१७ को आईसीआईजेको प्याराडाइज पेपर्स लिक्सले विकास सिन्हाको नाम पनि सार्वजनिक गरेको थियो । सिन्हाको जन्मस्थान नेपाल हो, विदेशमा कम्पनी खोल्न उनले नेपाली राहदानी प्रयोग गरेका छन् । ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनको युनाइटेड स्पिरिटस् लिमिटेड कम्पनीमा लगानी रहेको भेटियो । यसले नेपालको चर्चित मदिरा कम्पनी युनाइटेड स्पिरिटस्मा ट्याक्स हेवन मुलुकमार्फत लगानी ल्याएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सहयोगमा हाल यो कम्पनी नेपालबाट बाहिरिइसकेको छ ।

डाक्टर र प्राध्यापक

गैरकानूनी लगानीमा व्यवसायी मात्रै हैन एक डाक्टर र एक प्राध्यापक पनि जोडिएका छन् । डाक्टर श्यामबहादुर कर्माचार्य र प्रोफेसर शतेन्द्र गुप्ताले ट्याक्स हेवनमा लगानी गरेको देखिन्छ । बायोमेडिकल इक्विपमेन्ट विज्ञ डाक्टर श्यामबहादुर कर्माचार्यले ललितपुर–महानगरपालिका २ ठेगाना उल्लेख गरी २००८ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा सर्जि इलेक्ट्रो मेडिका कम्पनी दर्ता गरेका हुन् । सर्जि इलेक्ट्रो मेडिका नामको कम्पनी नेपालमा पनि दर्ता भएर पोखरामा सञ्चालनमा छ । यो कम्पनीले बायोमेडिकल उपकरण आयात र बिक्री गर्ने काम गर्छ । विदेशमा र नेपालमा एउटै नाममा खुलेको यो कम्पनीले डाक्टर र हस्पिटलहरूलाई चाहिने ‘बायोमेडिकल र सर्जिकल इक्विपमेन्ट’ आपूर्तिको काम गरिरहेको छ ।

काठमाडौं र पोखराको सर्जि इलेक्ट्रो मेडिकामा कर्माचार्यकै लगानी रहेको कम्पनी प्रतिनिधि अनिल भुुर्तेलले पनि पुष्टि गरे । “उहाँ नेपालको पहिलो बायोमेडिकल उद्योगी हुनुहुुन्छ । नेपालको पहिलो कर्पोरेट हस्पिटल, काठमाडौं हस्पिटलको मालिक पनि हो उहाँ” भुुर्तेलले भने, “नवलपरासीमा औषधि उद्योग छ । अहिले छोरा राजु कर्माचार्यले हेर्नुुहुन्छ ।”

प्रोफेसर गुप्ताले सन् २००४ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा ‘वोन्का इन्टरनेशनल इन्क’ कम्पनी दर्ता गरेको आईसीआईजेको विवरणमा देखिन्छ । यो कम्पनीमा युरोप, अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाका १२ जना डाक्टर र प्रोफेसरहरूको लगानी छ । विवरणबाट नेपाली नागरिक प्रोफेसर गुप्ता र चिकित्सा पेशामै संलग्न १२ अन्य विदेशी नागरिकको सोही समूहले बैंकक्, थाइल्याण्डमा कार्यालय रहेको वोन्का नाम गरेको अर्को संस्था पनि खोलेको देखिन्छ ।

फेमेली डाक्टर, फिजिसियन तथा चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय संजाल वोन्कामा नेपाली नागरिक गुप्ता मध्यपूर्व तथा दक्षिणएशियाका क्षेत्रीय उपाध्यक्ष समेत भइसकेका छन् । कन्चनपुर जन्मस्थान भएका गुप्ता सन् १९७७ मा सरकारी कोटामा एमबीबीएस अध्ययन पूरा गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका प्रमुख भएको वोन्काको रिपोर्टमा उल्लेख छ । सन् २००१ को डिसेम्बरमा प्रकाशित रिपोर्ट अनुसार, उनी जनरल प्राक्टिसनर्स एसोसिएसन अफ नेपाल (जिपान) का संस्थापक समेत हुन् ।

ट्याक्स हेवन र चिनी

सरकारी निकायसमक्ष आफ्नो अनुकूलका एजेण्डाका लागि ‘लविङ’ गर्न सक्ने एक व्यवसायीको नाम हो शशिकान्त अग्रवाल । कहिले खेतान र कहिले अग्रवाल थर लेख्ने उनको पनि विदेशमा लगानी छ । आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार, शशिकान्त र उनका भाइ सुमितको ‘मल्टी लिंक ट्रेडिङ लिमिटेड’ कम्पनी ब्रिटिश भर्जिन आइल्यान्डस्मा छ । उनीहरूले सन् २००३ मा यो कम्पनी दर्ता गरेका हुन् ।

अग्रवालले चाहिं कम्पनी खोल्न प्रस्ताव मात्रै गरिएको बताए । “महोत्तरीमा चिनी कारखाना र इटहरीमा रिलायन्स स्पिनिङ मिल्स छ । विदेशमा मेरो कतै लगानी छैन” अग्रवालले भने, “त्यतिखेर अखबारमा नाम आएको थियो तर लगानी होइन । एउटा कम्पनी खोल्ने भन्ने कुरा भएको थियो, पछि खुलेन ।”

नेपाल चिनी उत्पादक संघका अध्यक्ष रहेका शशिकान्तकै जोडबलमा ३१ भदौ २०७५ मा सरकारले आयातित चिनीको परिमाणात्मक बन्देज लगाउने निर्णय गरिदिएको थियो । अग्रवाल संलग्न उद्योग क्षेत्रलाई सरकारले सुविधा दिएको यो पहिलोपटक थिएन । स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्ने नाममा १५ प्रतिशत भन्सार महसुल बढाएर सरकारले ३० प्रतिशत पुु¥याइसकेको छ । परिणाम उपभोक्ताले महङ्गोमा चिनी किन्नु परिरहेको छ ।

यसअघि खोपकेले सार्वजनिक गरे अनुसार, विवादास्पद कर फछ्र्योट आयोगबाट समेत उनले कर छूट सुविधा लिएका छन् । उनको रिलायन्स उद्योगले सरकारलाई विभिन्न शीर्षकमा १ करोड १२ लाख २७ हजार ७७३ रुपैयाँ बुुझाउनुपर्ने थियो । यसमध्ये आयोगले उनको पूरै रकम मिनाहा दिने निर्णय गरेको थियो ।

नेपाली नागरिकता दुरुपयोग

आईसीआईजेबाट प्राप्त विवरणहरूले विदेशमा पैसा राख्न विदेशी नागरिकले नेपाली नागरिकताको प्रयोग गरेको पनि भेटियो । हरिशकुमार तोदी अग्रवाल, बिजेस तोदी र विन्दुु तोदीको विदेशी लगानी बारेको विवरणबाट यो स्पष्ट हुन्छ । सन् २००७ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनीहरूको नाममा उडस्टक युनिभर्सल लिमिटेड नाम गरेको कम्पनी दर्ता भएको रहेछ । यसमध्ये बिजेश र हरिशले विराटनगर–९ मोरङको ठेगाना उल्लेख गरी नेपाली राहदानी पेश गरेका थिए । रोचक कुरा, भारतस्थित हरियाणा ठेगाना उल्लेख भएकी विन्दु तोडी पनि यही कम्पनीको लगानीकर्ता हुन् ।

हरिश र बिजेश नेपालमा नाम चलेका व्यवसायी हैनन् । खोजी गर्दै जाँदा यी दुुईको भारतमा पनि लगानी रहेको भेटियो । बिन्दु तोदीको लगानी रहेको कम्पनीको बारेमा अनुसन्धान गर्दा हरिश र बिजेश पनि भारतीय नागरिक भएको भेटियो । उनीहरूले भारतीय नागरिक भएर ‘जेड निड्स प्रालि’ नामको कम्पनीमा लगानी गरेका रहेछन् । खेल सामग्रीको कारोबार गर्ने अर्को कम्पनी ‘टि टेन स्पोर्टस्’ पनि भारतमा उनीहरूकै नाममा दर्ता छ । कम्पनीको वेबपेजमा दिइएको जानकारी अनुसार, यो कम्पनीले अहिले नेपाली क्रिकेट टोलीका लागि जर्सी अपूर्ति गर्दै आएको छ ।

हामीले उनको भारतीय नम्बरमा फोन ग¥यौं । ‘तोदीले टी टेन स्पोट्र्स र वुडस्टक दुवैमा आफ्नो लगानी नभएको बताए” तर नेपाली नागरिकता प्रयोग गरेको प्रश्नमा उनले भने, “जुन देशको भए पनि म जहाँ पनि जान र घुम्न सक्छु ।”

पर्यटन व्यवसायी बजगाई

विवरणहरूको अनुसार, नेपाली कांग्रेसबाट प्रदेश सभामा पराजित राजेन्द्र बजगाईको पनि विदेशमा लगानी रहेको देखिन्छ । बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाईले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका छन् ।


बेलायतमा व्यवसायी राजेन्द्र बजगाँईको कम्पनी दर्ता भएको प्रमाणपत्र ।
गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी ‘द हिमालयन एडभेन्चर लिमिटेड’ बनाइएको थियो । नाम परिवर्तन भएको कम्पनीका लगानीकर्तामा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिश नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाई शेयर सदस्य छन् । पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाई नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन् ।

बजगाईले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ कम्पनीको नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन् । प्राप्त विवरणहरू अनुसार उनले नेपालमा २०५५ सालमा कम्पनी दर्ता गरेका हुन् । त्यसको पा“च वर्षपछि अर्थात् सन् २००४ (२०६०) मा नेपालमै व्यवसाय गरिरहेको कम्पनीको नाम राखेर लन्डनमा नयाँ कम्पनी खोलेको देखिन्छ ।

बजगाईले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् । उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैया“ नेपालमा लगानी आएको देखिन्छ । यो लगानी हङकङ, ब्रिटिश भर्जिन आइल्यान्डस् र बेलायतका तीन कम्पनीसँग सम्बन्धित छ । ती कम्पनीहरूमा हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गत ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिश भर्जिन आइल्यान्डस्को ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ हुन् । बजगाईसँग साझेदारी गर्ने गरी लन्डनका नागरिक डेविड फ्र्यांकेलले पनि २ करोड २५ लाख रुपैया“ विदेशी लगानी ल्याएका छन् ।

बेलायतमा आफ्नो नाममा कम्पनी रहेको बजगाईले स्वीकार गरे । “बेलायतको एक पाउन्डको गिफ्टेड कम्पनीमा म पनि संलग्न छु । म आफैंले लगानी गरेको होइन” उनले भने “हामीले यहाँको पैसा त्यो कम्पनीमा लगेका छैनौं ।” ब्रिटिश भर्जिन आइल्यान्डस्बाट लगानी ल्याएको सम्बन्धमा बजगाईले भने, “यो देश कर छलीको हिसाबले कालोसूचीमा परेको कुरा मलाई थाहा छैन । सरकारले लगानीको स्वीकृति दिइसक्यो । म त्यसबारेमा बोल्न चाहन्नँ ।”

मंगेश र संजीव

आईसीआईजेले उपलब्ध गराएको क्यालिफोर्नियाको कम्पनी दर्ता गर्ने कार्यालयको विवरण अनुसार काठमाडौं ठेगाना उल्लेख मंगेशलाल श्रेष्ठले पनि विदेशमा लगानी गरेका छन् । मंगेशले अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५ मा इन्सेसेन्ट रेन नामक फिल्म र एनिमेसन सम्बन्धी काम गर्ने कम्पनी दर्ता गरेको भेटियो । यसमा दुुई नेपाली नागरिक र एक गैरआवासीय नेपालीको लगानी रहेको देखिन्छ । त्यसमध्ये एक हुन् मंगेशलाल । सूचनाप्रविधि सम्बन्धी कम्पनी मर्कन्टायल अफिस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव राजभण्डारी र क्यालिफोर्निया निवासी किरणभक्त जोशी समेत यो कम्पनीका लगानीकर्ता हुन् । उनीहरूको ठेगाना बाँसबारी, काठमाडौं उल्लेख छ ।

क्यालिफोर्नियामा दर्ता रहेको इन्सेसेन्ट रेन नामकै कम्पनीले नेपालमा पनि काम गरिरहेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाए अनुसार, इन्सेसेन्ट रेन एनिमेशन स्टुडियो प्रालि नाममा कम्पनी दर्ता गरिएको छ । यसका लगानीकर्ता क्यालिफोर्नियाको इन्सेसेन्ट रेन प्रालि, संजिव राजभण्डारी, किरणभक्त र सुप्रभा राजभण्डारी हुन् । मंगेश नेपाल युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत हुन् । मंगेशलालले आफ्नो विदेशमा लगानी नभएको बताए । “क्यालिफोर्नियामा किरण दाइ र संजिव अंकलको कम्पनी हो । म त्यसमा संलग्न छैन” मंगेशले भने, “कास ट्रेडिङ हाउस हाम्रो पारिवारिक बिजनेश हो । योगेश्वरलाल श्रेष्ठ मेरो बुवा हो । त्यो कम्पनीमा संलग्न हुन खोजेको हो तर, भइनँ ।” इमेलमा भेटिएका संजिव राजभण्डारीले उक्त कम्पनीमा आफ्नो संलग्नतावारे अस्विकार गरे । उनले भने, “त्यो कम्पनी मेरो सहमती र जानकारी बिना खोलिएको हो ।”


बेलायतमा व्यवसायी चन्द्र ढकालको कम्पनी दर्ता भएको प्रमाणपत्र । तलपट्टी ढकालले त्यहाको कम्पनी दर्ता गर्ने निकाय ‘कम्पनीज हाउस’ लाई लेखेको पत्र ।
आईएमई ग्रुपका चन्द्रप्रसाद ढकाल

प्राप्त विवरण अनुसार, व्यवसायी चन्द्र ढकालले बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालय ‘कम्पनिज हाउस’ मा सन् २००२ अगष्ट ९ मा सनवर्ड कम्प्युटर कन्सल्ट्यान्टस लिमिटेड खरीद गरेको देखिन्छ । आईसीआईजेको सहयोगमा प्राप्त कागजात अनुसार, उनले खरीद गरेको १२औं दिनमा कम्पनीको नाम परिवर्तन गरी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) युके लिमिटेड बनाएका थिए । यसमा ढकाल, उनका भाइ हेमराज, दुुई बेलायती र दुुई गैरआवासीय नेपालीले लगानी गरेका छन् । गैर आवासीय नेपालीहरूमा बेलायत बस्ने अनिलकुमार लामिछाने र कमल पौडेल हुन् । २१ अगस्ट २००२ मा बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्रमा ढकालले भनेका छन्, “नेपाल र मलेशिया दुवैमा हामी लिमिटेड कम्पनी हौं । कम्पनीको नाम इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेड हो ।” (हे. पत्र)

हेमराज ढकालको लगानी रहेको अर्को कम्पनी आईएमई होल्डिङ लिमिटेड पनि बेलायतमा दर्ता छ । कम्पनिज हाउसले उपलब्ध गराएको विवरण अनुसार, चन्द्र ढकालको नेपालको ठेगाना महाराजगञ्ज–४ काठमाडौं र बेलायतको ठेगाना पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड उल्लेख छ । हेमराजको ठेगाना चाहिं बेलायतको पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड लेखिएको छ ।

बेलायतमा गरेको लगानीबारे व्यवसायी चन्द्र ढकालले भने, “आईएमई नाम मात्र हामीहरूको हो, लगानी हामीहरूको होइन, त्यहींका मान्छेको हो ।” तपाईंका नाममा बेलायतमा कम्पनी दर्ता छ नि भन्ने प्रश्नमा ढकालले भने, “तपाईंहरूले कहाँबाट पाउनुभयो त्यो थाहा छैन तर त्यो लन्डनकै मान्छेहरूको हो ।” ढकालले सनबर्ड कम्प्युटर कन्सल्टेन्ट भन्ने कम्पनीलाई इन्टरनेशनल मनी एक्सप्रेस नबनाएको र आफू त्यसमा संलग्न नभएको पनि दाबी गरे ।

सतिशलाल आचार्य र भावनासिंह श्रेष्ठ

प्राप्त कागजात अनुसार, सिंगापुर बस्ने नेपाली व्यवसायी सतिशलाल आचार्यले सन् २००० देखि २००७ सम्म ब्रिटिश भर्जिन आइल्यान्डस्मा विभिन्न चार कम्पनी दर्ता गरेको देखिन्छ । आचार्यले पासा होल्डिङ लिमिटेड, स्क्वायर स्टार इन्क, लासेल होल्डिङ इन्कर्पोरेटेड र लिडिङ फेथ इन्कर्पोरेटेड कम्पनी दर्ता गरेका छन् । लासेल कम्पनीमा लिडेनवर्ग लिमिटेडको पनि लगानी छ । सतिश आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको नामबाट पनि विदेशमा लगानी भएको देखिन्छ । सन् २०१५ मा उनको नाममा सिंगापुरमा सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेड दर्ता भएको छ । सुनिभेरा क्यापिटल भेन्चर भावनाकै नाममा नेपालमा पनि कम्पनी दर्ता छ । नेपालमा ठूलो कर छली प्रकरणमा मुछिएको एनसेल कम्पनीमा सुनिभेराको (२० प्रतिशत) लगानी छ ।

सतिशको लगानी क्याम्बोडियालगायत अन्य मुलुकमा पनि छ । २१ अप्रिल २०१६ मा क्याम्बोडियाको फेनोम पेन्ह पोष्ट मा कार्यरत खोज पत्रकार ज्याक डेभिसको रिपोर्टमा उल्लेख भए अनुसार, सन् २००६ मा आचार्यले क्याम्बोडियामा टेलिकम कम्पनी एप्लिफोन खोलेर सो कम्पनीको अध्यक्षमा पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंहलाई नियुक्त गरेका थिए । एप्ली फोनले नेपालको स्मार्ट टेलिकममा लगानी गरेको छ । स्मार्ट टेलिकम नेपालमा सतिश र उनका परिवारको लगानी रहेको कम्पनी हो । उनले सिंगापुरमा खोलेको अर्को बिटम्याप प्राइभेट लिमिटेडले एशिया तथा अफ्रिकामा टेलिकमको व्यापार गर्ने गरेको छ । सन् २००२ मा झण्डै एक खर्ब रुपैयाँ बराबरको पूँजी र सम्पत्ति देखाउँदै यो कम्पनी स्थापना भएको हो ।

आचार्यको सिंगापुरमा लाल साहु डिष्ट्रिव्युसन र बिटम्याप प्राइभेट लिमिटेड गरी अरू दुई कम्पनीमा पनि लगानी रहेको भेटिएको छ । सिंगापुरको कम्पनी दर्ता गरिदिने कार्यालय ‘रजिष्ट्रिज अफ कम्पनिज एण्ड बिजनेश’ ले दिएको विवरण अनुसार, लाल साहु डिष्ट्रिव्युसन थोक वस्तुको कारोबार तथा खरीद बिक्री गर्ने कम्पनी हो । यसै कम्पनीले नेपालको स्मार्ट टेलिकम कम्पनीमा ८० प्रतिशत लगानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, स्मार्ट टेलिकमले सरकारलाई १ अर्ब ३७ करोड ५० लाख अर्ब राजस्व बुझाउन बाँकी छ । आईसीआईजेले ‘अफसोर लिक्स’ मा सार्वजनिक गरे अनुसार, सिंगापुरका नागरिक न्यो ले हियाङ पामेलाको पनि यी दुवै कम्पनीमा लगानी छ । हियाङले ब्रिटिश भर्जिन आइल्यान्डस्मा २९ कम्पनीमा लगानी गरेका छन् ।

सतिशको कारोबार क्याम्बोडियामा पनि छ । क्याम्बोडियाको वाणिज्य मन्त्रालयको सूची अनुसार, राजबहादुर सिंह त्यहाँ दर्ता भएको लासेल प्राइभेट नामक कम्पनीका पनि मालिक हुन् । सन् २०१३ मा भएको आईसीआईजेको अफसोर लिक्सले पनि २००७ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको लासेल होल्डिङ इन्कमा आचार्यको लगानी भएको देखाउँछ । सतिश र भावनासँग सम्पर्क हुन सकेन ।

होटल मल्लकी रमा मल्ल

राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जबराकी छोरी रमा मल्लले पनि बेलायतमा एक कम्पनीमा लगानी गरेको भेटियो । ‘कम्पनिज हाउस’ बाट प्राप्त विवरण अनुसार, लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिसन एटवाटर र उनको संयुक्त लगानी छ । ‘स्विस लिक्स’ प्रकरणमा आईसीआईजेले दिएको जानकारी अनुसार, स्विस बैंकमा रकम जम्मा गर्नेहरूको सूचीमा एटवाटरको पनि नाम थियो । एटवाटर र मल्लको लगानीमा बेलायतमा सिक्स्टिन अप्पर ब्रुक स्ट्रीट लिमिटेड कम्पनी सञ्चालनमा छ । ३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लले लगानी गरेको देखिन्छ । रमा मल्ल ‘होटल मल्ल’ की अध्यक्ष हुन् । एक वर्षअघि उनले कर नतिरेको भन्दै नेपालमा सार्वजनिक सूचना समेत जारी भएको थियो ।

मल्लको प्रतिक्रिया लिन हामीले होटल मल्लमा पटक पटक सम्पर्क ग¥यांै । आफूलाई मल्लको स्वकीय सचिव बताउने सुरेन्द्र नाम गरेका व्यक्तिले ‘म खबर पु¥याइदिन्छु, भोलि कल आउँछ’ भने । तर, चार दिनसम्म पनि सम्पर्क हुन सकेन ।

मिनु शाह/छिब्बर

रमा मल्लसँग व्यापारिक साझेदारी गरिरहेका एटवाटरबारे थप विवरण खोजी गर्दै जाँदा नेपाली नागरिक मिनु शाह/छिब्बरको नाम भेटियो । मिनु शाह स्विस बैंकमा रकम जम्मा गर्ने नेपाली नागरिकमध्ये एक हुन् । एटवाटर र मिनुले आजभन्दा १५ वर्षअघि सन् २००३ देखि दुुई वर्ष अघिसम्म ट्याक्स हेवन मुलुकमा लगानी गरेका छन् । आईसीआईजेको पनामा पेपर्सले फेला पारेको २०१५ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ । इङ्गल्याण्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको सो कम्पनीको बैंक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ । ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको कम्पनी सन्् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय देखिन्छ ।

२०१० को एक दस्तावेज अनुसार, उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिक हुन् । उनीहरूमार्फत मिनु ट्याक्स हेवन मुलुकमा प्रवेश गरेको देखिन्छ । मिनु शाह/छिब्बर परिवारको सम्बन्ध दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेडसँग पनि छ । मिनुका दुुई छोराहरू महेश र पर्वेश यस कम्पनीका लगानीकर्ता हुन् । यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिसन एटवाटर पनि अन्तरसम्बन्धित छन् । कम्पनीको दस्तावेजमा ‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्थाको रूपमा एटवाटरको नाम उल्लेख छ । मिनु, महेश र पर्वेश तीनै जनाले आफूले इच्छाएको व्यक्तिमा एटवाटरको नाम लेखेका छन् ।

मिनुको जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा दर्जन भन्दा बढी कम्पनीहरूमा लगानी छ । लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको लन्डनमै करीब आधा दर्जन कम्पनीमा लगानी छ । कुपन्डोल, ललितपुर ठेगान भएकी मिनु शाह भारतीय नागरिक सिर्वतेरा प्रकाश छिब्बरसँग विवाह गरेर मिनु शाह छिब्बर भएकी हुन् । ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित दुुई जर्नल अनुसार मिनु उक्त सोसाइटीकी सदस्य हुन् । परराष्ट्र मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीका अनुसार, “मिनु छिब्बरले बेलायती दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा मेशिन रिडेबल पासपोर्ट (एमआरपी) लिएकी छिन् ।”

कानूनले के भन्छ ?

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन– २०२१ अनुसार विदेशमा लगानी गरे जेल सजायसम्म हुने व्यवस्था छ । यो कानून ‘नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक र नेपालभित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुने’ उल्लेख छ । ऐनको दफा २ अनुसार, लगानी भन्नाले ‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने अरू जुनसुकै किसिमको नगदी वा जिन्सी’ सम्झनुपर्छ । सो परिभाषा अनुसार, ‘नेपालीले विदेशमा सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैंकमा एकाउण्ट, विदेशस्थित घरजग्गा र जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी गर्न पाउने छैन ।’ ऐनमा भनिएको छ, ‘कसैले यो ऐनको आदेश वा निर्देशनको उल्लंघन गरी कुनै काम कुरा गरेमा निजलाई बिगो बमोजिम जरिवाना वा ६ महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।’

(‘पनामा पेपर्स’ सन् २०१५ मा इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस् (आईसीआईजे) ले सार्वजनिक गरेको खुलासा हो । यो खुलासा जर्मनीको पत्रिका ‘जुटच जाइटुङ’ बाट प्राप्त लाखौं गोप्य प्रतिवेदन र सूचनाहरूबाट निकालिएका निष्कर्षहरू हुन् । १ करोड १० लाखभन्दा बढी प्रतिवेदनमा इमेल, रकम पठाएको प्रमाण तथा कम्पनी दर्ता सम्बन्धी विवरणहरू समावेश छन् । मध्य तथा दक्षिण अमेरिकालाई जोड्ने पनामा देशमा अफसोर अर्थात् बाह्य मुलुकमा शेल कम्पनी दर्ता गराइदिने बिचौलिया एजेन्ट कम्पनी मोसेक फोन्सेका र उसले सन् १९७७ देखि २०१५ सम्म गरेका भित्री कामहरूबारे पनामा पेपर्सले खुलासा गरेको थियो ।)
 
Posted on 01-16-19 7:56 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरबौ खरबौ डल्लर लुकाएका छन् नेपालीहरुले स्विस बैंकमा अनि देश को बिकास कहिले हुने

https://myrepublica.nagariknetwork.com/news/breaking-news-55-nepalis-have-over-52-billion-in-swiss-banks/
 
Posted on 01-17-19 1:53 AM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो अनौठो कानुन
https://www.youtube.com/watch?v=6_ItH7mvd_c
 
Posted on 01-17-19 8:16 AM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why did you include Uprendra Mahoto name? Isn’t he NRN?
 
Posted on 01-18-19 10:03 AM     [Snapshot: 480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@richard10000
Mahato is a Nepali citizen.

Nepal's law forbids any Nepali to invest in foreign country.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters